डुबान र हिमपहिरोको जोखिम : कार्तिक १३ देखि पूर्वी र मध्य क्षेत्रमा विशेष सावधानी अपनाउन विभागको आग्रह

डुबान र हिमपहिरोको जोखिम : कार्तिक १३ देखि पूर्वी र मध्य क्षेत्रमा विशेष सावधानी अपनाउन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि देशका पूर्वी र मध्यक्षेत्रका पहाडी तथा हिमाली भू-भागमा भारी हिमपात र वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

विभागले २०८२ कार्तिक १३ गते जारी गरेको चेतावनी अनुसार बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई स्थानमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरेको छ । साथै, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा समेत हुने सम्भावना रहेको जनाएको छ।

विभागले उक्त मौसम प्रणालीका कारण डुबान, पहिरो, हिमपहिरो र यातायात अवरोध हुने जोखिम भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।

सतर्क रहन भनिएका स्थानहरूमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका सबै जिल्ला साथै दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मूस्टाङ, मनाङ, गोरखा र चितवन जिल्ला रहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, रोल्पा, प्युठान, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लामा आंशिक प्रभाव पर्ने चेतावनी दिइएको छ।

विभागले आवश्यक पूर्वतयारीसहित मौसमलगायतका सूचना नियमित रूपमा अनुसरण गर्न, हिमाली तथा उच्च पहाडी क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

थप जानकारीका लागि विभागले आफ्नो वेबसाइट www.mfd.gov.np

तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)  को सूचना प्रणाली हेर्न अनुरोध गरेको छ।

Tokha