बागमती, मधेश र कोशी प्रदेशमा ‘मोन्था’ चक्रवातको प्रभाव, भारी वर्षा र हिमपातको पूर्वानुमान

बागमती, मधेश र कोशी प्रदेशमा ‘मोन्था’ चक्रवातको प्रभाव, भारी वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘मोन्था’ भारतको आन्ध्रप्रदेश हुँदै उत्तर-उत्तर पश्चिम दिशातर्फ सरिरहेको छ । उक्त चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै नेपालतर्फ सर्ने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार यस चक्रवातको अप्रत्यक्ष प्रभावका कारण आगामी कार्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म नेपालका विभिन्न भूभागमा मौसमी गतिविधि बढ्ने सम्भावना छ । विशेष गरी बागमती, मधेश र कोशी प्रदेशमा वर्षा, हावाहुरी र हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं. १ (कोशी) का उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ । त्यसैगरी गण्डकी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा समेत हल्का वर्षा हुन सक्छ।’

विभागले हालको विश्लेषण अनुसार बागमती, कर्णाली, कोशी र गण्डकी प्रदेशका नदी तथा साना सहायक नदीहरूमा जलस्तर बढ्ने र सामान्य देखि आकस्मिक बाढी आउने सम्भावना रहेको चेतावनी दिएको छ ।

काठमाडौं उपत्यका लगायत सिन्धुली, दोलखा, रामेछाप, भोजपुर, सुनसरी, उदयपुर, धनुषा, मोरङ, सप्तरी, सिराहा र सर्लाही जिल्लामा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

विभागका प्रवक्ता बिभुति पोखरेलले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै भनेकी छन्, ‘सामान्य जनजीवन, यातायात, कृषि तथा पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सावधानी अपनाउनुपर्ने हुन्छ।’

विभागले आफ्नो वेबसाइट, सामाजिक सञ्जाल र टोल फ्री सेवा (११४५)  मार्फत अद्यावधिक सूचना प्राप्त गर्न नागरिकलाई आग्रह गरेको छ ।

Tokha