काठमाडौं । ललितपुरको इमाडोलस्थित किस्ट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि सोमबार बिहानदेखि अवस्था अत्यन्तै तनावपूर्ण बनेको छ। उपचारका क्रममा मृत्यु भएकी महिलाको घटनापछि मृतकका आफन्त र स्थानीयबासीले अस्पताल परिसरमा नाराबाजी गर्दै तोडफोड गरेका छन्।
अस्पतालमा ढुंगामुढा चल्दा केही व्यक्तिहरू घाइते भएका छन् भने अस्पतालको संरचनामा क्षति पुगेको बताइएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले बाक्लो संख्यामा सुरक्षा बल परिचालन गरेको छ। अस्पताल परिसर र आसपासका क्षेत्रलाई प्रहरीले घेरेर राखेको छ भने बाहिर ठूलो भीड जम्मा भइरहेको छ।
गत शुक्रबार मीना राईको सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो। आफन्तहरूले अस्पतालको लापरबाहीका कारण उनको ज्यान गएको आरोप लगाउँदै न्यायको माग गरेका छन्। उनीहरूले अस्पताल जिम्मेवार ठहर गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।
सोही मागसहित आज बिहान प्रदर्शन तीव्र भएपछि प्रदर्शनकारीले ढुंगा बोकेर अस्पतालतर्फ अगाडि बढ्दा स्थिति नियन्त्रण गर्न प्रहरीले कठिनाइ भोग्नु परेको थियो। प्रहरीले भिड नियन्त्रणका लागि अतिरिक्त बल खटाएको छ।
अस्पताल प्रशासनले भने घटनाबारे आन्तरिक अनुसन्धान भइरहेको बताउँदै शान्ति र संयम अपनाउन आग्रह गरेको छ।
































