बागमती प्रदेश सरकारको बजेट खर्च निराशाजनक, पहिलो तीन महिनामा कुल बजेटको ६.१९ प्रतिशत मात्र खर्च

बागमती प्रदेश सरकारको बजेट खर्च निराशाजनक, पहिलो तीन महिनामा कुल बजेटको ६.१९ प्रतिशत मात्र खर्च

मकवानपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६.१९ प्रतिशत मात्र खर्च गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको ५.१९ प्रतिशत अर्थात् चार अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको छ ।

चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा साउनदेखि असोजसम्ममा चार अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले १९.५५ प्रतिशत, प्रदेशसभा सचिवालयले १७.१९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५.३१ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले ०.८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए ।

Tokha