इजरायलमा बन्धक नेपाली विद्यार्थी विपिन जोशी अब जीवित छैनन्

इजरायलमा बन्धक नेपाली विद्यार्थी विपिन जोशी अब जीवित छैनन्

काठमाडौं । इजरायलमा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा पुष्टि गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) का एक उच्च अधिकारीले आज बिहान स्थानीय समय अनुसार साढे ७ बजे विपिनको मृत्युबारे जानकारी दिएका हुन् ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सो जानकारी भिडियो कन्फरेन्समार्फत दिइएको हो । सो क्रममा अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी, इजरायलको प्रधानमन्त्री कार्यालयका दुई प्रतिनिधि र राजदूत पण्डित स्वयं सहभागी थिए ।

राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले औपचारिक रूपमा भने -‘विपिन इज नो मोर।’

अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअनुसार आज केही जीवित र मृतक बन्धकहरूलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ । तर, सो सूचीमा विपिन जोशीको नाम समावेश गरिएको छैन ।

कञ्चनपुरका २२ वर्षीय विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिण इजरायलस्थित किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा अन्य नेपाली विद्यार्थीहरूसँगै अपहरणमा परेका थिए । उक्त हमलामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

जोशीलाई पछिल्लो पटक सन् २०२३ नोभेम्बर १७ मा गाजास्थित अल शिफा अस्पतालमा देखिएको थियो । त्यसपछि उनको अवस्थाबारे कुनै समाचार प्राप्त भएको थिएन । केही दिनअघि सार्वजनिक गरिएको उनको एउटा पुरानो भिडियोबाहेक, अन्य प्रमाण भेटिएको थिएन ।

विपिनको अवस्थाबारे जानकारी पाउन उनका परिवारजन निरन्तर प्रयासरत थिए । यसअघि उनको आमा र बहिनी सरकारी सहयोगमा इजरायल पुगेका थिए र पछि अमेरिकातर्फ गएका थिए ।

सरकारले जोशीको उद्धार र अवस्थाबारे जानकारी प्राप्त गर्न कूटनीतिक पहल जारी राखे पनि ठोस परिणाम ननिस्किएको अवस्थामै इजरायली सेनाले आज उनको निधनको पुष्टि गरेको हो

Tokha