काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ।
गत भदौ २३-२४ मा भएको जेनजी युवा आन्दोलनमा विद्यार्थीहरुलाई आन्दोलनमा उक्साउने, आगजनी र तोडफोड गर्ने, राष्ट्रिय सम्पदामा क्षति पुर्याउने तथा सरकारी र निजी सम्पत्ति लुटपाटको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने माग नेविसंघले गरेको छ ।
उजुरीमा नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह सहभागी थिए। उनीहरूले २४ घण्टाभित्र उजुरीको जवाफ र बालेन्द्र शाह तथा सुदन गुरुङको पक्राउ गरी अनुसन्धानको माग राखेका छन् ।
यसअघि सुदन गुरुङसहितका युवाहरू विरुद्ध तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र अन्य नेताहरूलाई पनि उजुरी दिइसकिएको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।

































