दुई महिनामा अलैँची निर्यात ४४ प्रतिशतले बढ्यो, मेची भन्सारबाट तीन अर्ब मूल्य बराबरको मालवस्तु निर्यात

दुई महिनामा अलैँची निर्यात ४४ प्रतिशतले बढ्यो, मेची भन्सारबाट तीन अर्ब मूल्य बराबरको मालवस्तु निर्यात

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३.९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांक अनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो ।

गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । आव २०८१/८२ को पहिलो दुई महिनाको अवधिमा ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्यांक अनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा ७५ करोड तीन लाख ४८ हजार बराबरको चिया निर्यात भएको छ । सूचना अधिकारी हुमागाईंका अनुसार आव २०८१/८२ को सोही अवधिमा एक अर्ब १३ करोड ७४ लाख आठ हजार बराबरको चिया निर्यात भएको छ ।

भन्सार कार्यालयको तथ्यांक अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८.३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५.२० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५.१० प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता ९३.४० प्रतिशत, अदुवा ४१.८० प्रतिशत र अम्रिसो ३०.१० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

मेची भन्सारबाट चालु आवको दुई महिनामा तीन अर्ब ६ करोड ३७ लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।

 

Tokha