काठमाडौं उपत्यकामा ध्वनि प्रदूषण नगर्न अपिल उल्लंघन गरे ३ लाखसम्म जरिवाना हुने

काठमाडौं उपत्यकामा ध्वनि प्रदूषण नगर्न अपिल उल्लंघन गरे ३ लाखसम्म जरिवाना हुने

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेक अभियान’ सञ्चालन गर्दै आम नागरिकलाई अनावश्यक ध्वनि प्रदूषण नगर्न अपिल गरेको छ।

प्रहरीका अनुसार, बिहानै वा राति अबेर प्रेसर कुकरको सिट्ठी बजाउने, ठूलो आवाजमा मोटरसाइकल सुरु गर्ने, बिहानको नित्यकर्म गर्दा अत्यधिक आवाज निकाल्ने जस्ता गतिविधि छिमेकीलाई असुविधा पुर्‍याउँछन् । यसले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, विद्यार्थी र बिरामीमा मानसिक र शारीरिक असर पार्न सक्ने उल्लेख गरिएको छ।

यस्तै, फोनमा ठूलो स्वरमा कुरा नगर्न, टेलिभिजन वा म्युजिक सिस्टमको आवाज अत्यधिक नराख्न, भान्सामा भाँडाकुँडा जोरले नबजाउन, राति ढोका वा घन्टी नबजाउन समेत प्रहरीले आग्रह गरेको छ। मोटरसाइकल सुरु गर्दा छिमेकीलाई असुविधा नहोस भन्न पर्दामा राखेर मात्र सुरु गर्न निर्देशन दिइएको छ।

घरबाहिर फोहोर नफाल्ने र आवश्यक परे मात्र १०० वा १०३ नम्बरमा प्रहरीलाई सम्पर्क गर्न पनि नागरिकलाई सचेत गराइएको छ। प्रहरीका अनुसार, उल्लंघन भएमा ३ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ।

साथै, लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा लगायतको अत्यधिक आवाज नगर्न सबैमा आग्रह गरिएको छ। प्रहरीले यस अभियानमार्फत काठमाडौं उपत्यका छिमेकलाई शान्त र स्वस्थ बनाउने प्रयास गरिरहेको जनाएको छ।

Tokha