प्रेस चौतारी नेपालद्वारा आयोजित तीज विशेष कार्यक्रम बदलियो मनाउने शैली, महिला संचारकर्मी आधुनिक तरिकामा उत्साहित

प्रेस चौतारी नेपालद्वारा आयोजित तीज विशेष कार्यक्रम बदलियो मनाउने शैली, महिला संचारकर्मी आधुनिक तरिकामा उत्साहित

काठमाडौं । पछिल्ला वर्षहरूमा तीज मनाउने तौरतरिका बदलिएको छ । उत्साहका नाममा भड्किलो शैली भित्रिएको छ । दर खाने र नाचगान गर्ने संस्कृति महिलाबीच मात्र नभई विभिन्न पेशागत समूहमा समेत फैलिएको छ ।

यसै क्रममा महिला पत्रकारहरूले पनि आफ्नै बीचमा तीजको विशेष कार्यक्रम आयोजना गर्दै रमाइलो गर्ने, गीत बजाएर नाच्ने र दर खाने परम्परालाई आधुनिक शैलीमा आत्मसात गर्ने गरेका छन् । यसले तीजलाई केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई महिला एकता, उत्साह र साझा भेटघाटको अवसरका रूपमा स्थापित गरिदिएको छ ।

प्रेस चौतारी नेपालले महिला पत्रकारहरुमाझ तीज विशेष कार्यक्रम बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजना गर्दा त्यस्तै एकता देखियो । कार्यक्रममा विभिन्न मिडियामा आवद्ध महिला पत्रकारहरुसहित अतिथिहरुले एकताको सन्देश दिए ।

कार्यक्रममा सहभागी महिला पत्रकारहरु परम्परागत ढंगले दर खाने, तीजका गीतमा रमाइलो गर्ने, नाच्ने-गाउने, फोटो तथा भिडियो खिच्दै व्यस्त देखिन्थे । परम्परागत रूपमा तीज महिलाहरुको दुःख–सुख पोख्ने, मन हल्का बनाउने चाडका रूपमा मनाइने चलन भएपनि अहिले आधुनिक गीत-संगीत, नयाँ सोच र फरक शैलीमा तीज मनाउने प्रचलन बढेको सहभागीहरुले बताए ।

नेपाल पत्रकार महासंघकी महिला उपाध्यक्ष अम्बिका दाहालले विगत र वर्तमानबीचको तुलना गर्दै भनिन्,‘पहिला त महिलाहरु घरको काममै सीमित थिए, माइती जान पाउँदैनथे । तर अहिले तीजमा दर खान भनेर स्वतन्त्र रूपमा माइती घर जान पाउँछौं, यो हाम्रो स्वतन्त्रताको प्रतीक हो । गरगहना भन्दापनि मनबाट खुसी हुनु नै असली तीजको महत्व हो ।’

कार्यक्रममा रातो साडीमा सहभागी भएकी महिला पत्रकार पार्वती वानियाँले तीजलाई दिदी बहिनीबीचको भेटघाट र दुःख-सुख साट्ने चाडका रूपमा व्याख्या गरिन् । ‘गरगहना नभएकाले तीज नमान्ने भन्ने सोच गलत हो । जसले जे छ त्यसैमा खुसी मान्न सकिन्छ,’ उनले भनिन् ।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेशकी अध्यक्ष सीता पौडेल ९अर्चना०ले तीजलाई केवल रमाइलो मात्र नभई ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको चाड बताइन ।

त्यस्तै, कवि एवम संचारकर्मी बिमला तुम्खेवाले तीजले महिला–महिलाबीच सम्बन्ध नजिक ल्याउने भएकाले यसलाई सकारात्मक ढंगले अघि बढाउनुपर्ने धारणा राखिन । प्रेस चौतारीकी केन्द्रीय सदस्य सरस्वती वानियाँले तीज छोरी–चेलीलाई माइतीसँग जोड्ने माध्यम भएको बताउँदै यसलाई भड्किलो बनाउनुभन्दा सक्रिय ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिइन ।

एमाले नेतृ पूर्णशोभा चित्रकारले तीजको उत्पत्ति पौराणिक रूपमा पार्वतीले भगवान शिवलाई पाउन तपस्या गरेको कथासँग जोडिएको भन्दै आधुनिक समयमा पनि यसलाई आफ्नो-आफ्नो ढंगले मनाउन सकिने बताइन् ।

प्रेस चौतारी नेपालकी उपाध्यक्ष तथा महिला विभाग प्रमुख कृपा भण्डारीले विगतमा तीज अघिल्लो दिन मात्र दर खाने चलन भए पनि अहिले दुई हप्ता अघिदेखि नै सुरु हुने गरेको बताइन् । उनले भनिन्,‘महिला अब चुलो-चौकोमा मात्र सीमित छैनन् । विभिन्न कार्यक्रममा सहभागी भएर ठूलो सभाहलमा काम गर्न सक्छन् । यसले महिलाको प्रगतिशील सोचलाई देखाउँछ ।’

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पत्रकारिता आफैं चुनौतीपूर्ण भएपनि महिलाले जिम्मेवारीका साथ निभाइरहेका छन् भन्दै पुरुषहरुले पनि महिलासँगै सकारात्मक साथ दिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेकी सचिव पद्मा अर्यालले तीजलाई चेलीबेटीले माइतीमा गएर आफ्ना दुःख-पीडा पोख्ने अवसरका रूपमा स्मरण गरिन ‘पहिला विकास थिएन । बाटो थिएन । तीज आउनु भनेको माइती जाने र मन हल्का पार्ने मौका थियो । अहिले आधुनिक तरिकामा भएपनि यही संस्कृतिलाई निरन्तरता दिइनु जरुरी छ,’ उनले भनिन् ।

कार्यक्रममा सहभागी महिलाहरुले तीजलाई केवल गरगहना प्रदर्शन गर्ने चाड नभई, आपसी भेटघाट, दुःख-सुख साटासाट गर्ने, संस्कृतिलाई निरन्तरता दिने र सन्देशमूलक गीत संगीतमार्फत सकारात्मक परिवर्तन ल्याउने अवसरका रूपमा व्याख्या गरेका थिए ।

Tokha