गण्डकी, बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

गण्डकी, बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै  बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ ।

जसका कारण हाल देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

Tokha