टोखा नगरपालिकाले पहिलो पटक किन्यो दमकल, आगलागी नियन्त्रणमा सहज हुने अपेक्षा

टोखा नगरपालिकाले पहिलो पटक किन्यो दमकल, आगलागी नियन्त्रणमा सहज हुने अपेक्षा

काठमाडौं । टोखा नगरपालिकाले पहिलोपटक आगलागी नियन्त्रणका लागि दमकल खरिद गरेको छ । नगरपालिकाले पहिलोपटक  दमकल सेवा सञ्चालन गर्न लागेको हो ।

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार, नगरको १६औँ नगरसभाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा यो निर्णय पारित गरेपछि खरिद प्रक्रिया अघि बढाइएको बताए । ‘जनताको ज्यानधनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै छोटो समयमै दमकल ल्याउन सफल भयौँ,’ अधिकारीले मने ।

प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार, दमकल केही दिनमै सञ्चालनमा ल्याइने तयारीमा छ । सूचना प्रविधि अधिकृत बसन्त पाठकले बताए अनुसार, ८३ लाख रुपैयाँ अनुमानित लागतसहित टेण्डर आह्वान गरिएपनि प्रतिस्पर्धात्मक प्रक्रियाबाट ७७ लाख रुपैयाँमा दमकल खरिद गरिएको हो ।

टोखा-९ का वडाध्यक्ष रामभक्त घिमिरेले दमकल मुख्य सडकसम्म मात्र पुग्ने भएकाले आन्तरिक गल्लीसम्म सहजै पानी आपूर्ति गर्नका लागि हाइड्रेन्ट पाइप जडान कार्यसमेत पूरा भइसकेको जानकारी दिए ।

नगरको यो पहलसँगै अब आकस्मिक आगलागीका घटनामा छिटो र प्रभावकारी प्रतिक्रिया सम्भव हुने विश्वास नगरवासीमा देखिएको छ ।

Tokha