रसुवा । असार २४ गते आएको भीषण बाढीले क्षति पुर्याएको रसुवागढीको मितेरी पुल पुनर्निर्माण थालिएको छ । पुल क्षतिग्रस्त भएपछि नेपाल-चीनबीचको आवतजावत र व्यापार अवरुद्ध भएको थियो ।
चीन सरकारले पहिलो चरणमा वैकल्पिक बेलीब्रिज निर्माण सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेलीब्रिज पुरानो स्थानबाट दुई मिटर पूर्व सरेर निर्माण गरिँदैछ, जसले पुरातात्त्विक संरचनालाई असर नपर्ने बताइएको छ ।
पुल निर्माणस्थलमा स्काभेटरको सहायताले ल्हेन्दे खोलाको सतह व्यवस्थापनको काम पनि अघि बढाइएको छ । आवश्यक सामग्री चिनियाँ पक्षले रसुवागढीमा ल्याइसकेको छ । बेलीब्रिज आगामी भदौ ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै, पुल क्षतिग्रस्त भएपछि एकीकृत भन्सार भवनको निर्माण कार्य रोकिएको छ ।
































