मकवानपुर । बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि व्यवसायिक कृषक लक्षित कार्यक्रम सार्वजनिक गरेको छ। कृषिमा युवालाई आकर्षित गर्ने र विदेश पलायन रोक्ने उद्देश्यसहित सरकारले विभिन्न सहुलियत तथा प्रवर्धन योजनाहरू ल्याएको हो ।
मन्त्री प्रकाश श्रेष्ठका अनुसार, प्रदेशभरका ६ लाख कृषकमध्ये ३ लाख सुचिकृत कृषकलाई ६ प्रतिशत ब्याजमा ५ लाखदेखि १ करोड रुपैयाँसम्मको धितो ऋण उपलब्ध हुनेछ । त्यस्तै, कर्जा सुरक्षण कोषको साझेदारीमा बिना धितो १ लाखदेखि २५ लाख रुपैयाँसम्म ऋण पनि उपलब्ध हुनेछ ।
स्मार्ट फार्म स्थापना गर्न दामन, नुवाकोट, मकवानपुर, धादिङ र काठमाडौँका विभिन्न स्थानमा बजेट विनियोजन गरिएको छ । यस्तै, कृषि क्षेत्रमा अध्ययनरत बि।एस्सी, एम।एस्सी र पीएचडी तहका विद्यार्थीका लागि क्रमशः ८ लाख, १० लाख र २२ लाख रुपैयाँको सहयोग उपलब्ध गराइनेछ ।
प्रदेशका १३ वटै जिल्लामा उपयुक्त रैथाने बाली पहिचान गरी प्रवर्द्धन गरिनेछ। किबी, गोलभेडा र सागबाट गुन्द्रुक जस्ता प्रशोधन उद्योग स्थापना गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
‘एक पालिका, एक कृषि सूचना केन्द्र’ नीतिअन्तर्गत नौ पालिकामा कृषि एम्बुलेन्स, विषादी परीक्षण ल्याब, कोल्ड स्टोर र संकलन तथा वितरण केन्द्र स्थापना गरिनेछ। उत्पादनको आधारमा अनुदान दिने नीतिसमेत लागू गरिनेछ।
मन्त्री श्रेष्ठले बाँझो जमिन प्रयोगमा ल्याउँदै, माटोअनुसारको बाली उत्पादन र प्राङ्गारिक मल प्रयोग बढाइने बताएका छन् । व्यवसायिक कृषक लक्षित कार्यक्रमले किसानलाई प्रत्यक्ष लाभ हुने र कृषि क्षेत्रमा सशक्त परिवर्तन ल्याउने विश्वास मन्त्रालयले लिएको छ ।

































