पर्सा । वीरगन्ज नाकाबाट आर्थिक वर्ष २०७८/८२ मा व्यापारमा उल्लेखनीय वृद्धि भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत वर्ष ६ खर्ब २५ अर्ब ९७ करोड बराबरको वस्तु आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५।१४ प्रतिशत अर्थात् ८२ अर्ब बढी हो।
सबैभन्दा बढी आयातमा पेट्रोलियम पदार्थ रहेको छ, जसको मूल्य करिब १ खर्ब ९१ अर्ब ८८ करोड छ। त्यसैगरी, भटमासको कच्चा तेल ५७ अर्ब ६८ करोड र मेसिनरीका पार्टपुर्जा ३६ अर्ब ६३ करोड मूल्य बराबर आयात भएका छन् । फलाम र एलोपेथिक औषधि पनि क्रमशः ३४ अर्ब ४१ करोड र २८ अर्ब ५३ करोड मूल्यमा आयात भएका छन्।
निर्यातमा पनि ठूलो वृद्धि देखिएको छ । गत वर्ष वीरगन्ज नाकाबाट १ खर्ब १ अर्ब ८४ करोड बराबरका वस्तु निर्यात भएका छन्, जुन अघिल्लो वर्षको भन्दा २२७.०९ प्रतिशतले बढी हो। निर्यातमा मुख्यतया भटमासको प्रशोधित तेल, सूर्यमुखी तेल, फलफूलको जुस र फलामका सामग्रीहरू पर्दछन्।
वीरगन्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेका अनुसार आर्थिक सुधारसँगै आयात र निर्यात दुवैमा सकारात्मक वृद्धि देखिएको छ।



































