काठमाडौं । स्रष्टा सरस्वती रिजाल र कवि विधान आचार्य सम्मानित भएका छन् । नेपाल स्रष्टा समाजले मंगलबार आयोजित एक कार्यक्रममा उनीहरुलाई रमेशगंगा स्रष्टा सम्मानबाट सम्मान गरेको हो ।
कार्यक्रममा साहित्य साधक रमेशचन्द्र देवकोटा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, बागमती प्रदेशसभा सदस्य डा. दिनेशचन्द्र देवकोटालगायतले उनीहरुलाई सम्मान प्रदान गरे ।
नेपाली साहित्य सिर्जनामा निरन्तर योगदन पुर्याएबापत रिजाल र आचार्यलाई क्रमश: २०८० र २०८१ सालको रमेशगंगा स्रष्टा सम्मान प्रदान गरिएको समाजले जनाएको छ । सम्मानित दुवै स्रष्टालाई जनही २१ हजार १११ रुपैयाँ प्रदान गरिएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष रोदनले साहित्य साधक रमेशचन्द्र देवकोटाबाट धेरै ठुलो काम भएको भन्दै प्रशंसा गरे । ‘९२ वर्षको उमेरमा आफ्नै नाममा स्थापना भएको पुरस्कार यति धेरै साहित्यकारलाई साक्षी राखेर आफ्नै हातबाट प्रदान गर्न पाउनु जति ठुलो जीवनको उपलब्धी केही हुन सक्दैन,’ उनले भने ।
डा. दिनेशचन्द्र देवकोटाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरिमामय काम गरेको भन्दै धन्यवाद दिए । आफ्ना मातापिताको नाममा स्थापित सम्मान प्रदान गर्ने व्यवस्था र सम्मानका लागि उपयुक्त पात्र चयनका लागि उनले खुसी व्यक्त गरे । रमेशचन्द्र र गंगा उनका डा. देवकोटाका मातापिता हुन् ।
त्यसैगरी पूर्वमन्त्री वाचस्पति देवकोटाले भाउजू गंगा (स्वर्गीय) र अहिलेसम्म हाम्रो साथमा रहिरहनुभएका दाजु रमेशचन्द्र देवकोटाको संयुक्त नाममा पुरस्कार स्थापना गरेर जुन सम्मान कार्यक्रम आयोजना गरियो, यो अत्यन्तै अनुकरणीय रहेको बताए ।

सम्मानित स्रष्टा रिजालले स्वतन्त्र भएर पनि सम्मान पाइँदोरहेछ भन्ने उदाहरण आफू सम्मानित हुनुले महसुस गरेको बताइन् । उनले स्वतन्त्र अथवा वादबिनाको मान्छे, मान्छे हुन सक्दैन ? नागरिक हुन सक्दैन ? प्राज्ञ हुन सक्दैन ? जागिर खान सक्दैन ? लेखक हुन सक्दैन ? भन्दै प्रश्न गरिन् ।
त्यस्तै अर्का सम्मानित स्रष्टा आचार्यले खुसी व्यक्त गर्दै जिम्मेवारी थपिएको महसुस भएको बताए । ‘मेरो घरमा रेमशचन्द्र देवकोटाज्यूका हस्ताक्षर भएका दुईवटा महत्वपूर्ण कागजहरु झुन्डिने भए,’ उनले भने, ‘एउटा आजको यो सम्मानपत्र र अर्को २०३२ सालमा निम्न माध्यमिक विद्यालयको शिक्षक हुँदा उहाँले हस्ताक्षर गरेर दिएको नियुक्तिपत्र ।‘
वि. सं. २०७७ सालदेखि प्रदान गर्न थालिएको यस सम्मानबाट यसअघि जनार्दनशरण त्रिपाठी, डा. वासुदेव त्रिपाठी र नरनाथ लुइँटेल सम्मानित भइसकेका छन् । समाजले रमेशचन्द्र देवकोटाका पाँचवटा पुस्तक उनको ९३औं जन्मोत्सवको अवसर पारेर स्वरबद्ध गरी अडियो भर्सनमा ल्याउने तयारी गरिरहेको छ ।



























