भद्रपुर (झापा), १० फागुन: मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले वृद्धि भएको छ। कार्यालयका अनुसार उक्त अवधिमा रु आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको हो। दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची विदेश पठाइएको सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु पाँच अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैँची निर्यात भएको थियो। चालु आवमा भएको उल्लेख्य वृद्धिले झापा क्षेत्रको कृषिजन्य निर्यातमा सकारात्मक संकेत देखिएको छ। तर, चिया निर्यातमा भने गिरावट देखिएको छ। चालु आवको दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले घट्दै रु दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार बराबरमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिमा रु तीन अर्ब १६ करोड ६२ लाख १३ हजार बराबरको चिया निर्यात भएको थियो। कार्यालयको तथ्याङ्कअनुसार अन्य मुख्य निर्यात वस्तुमा पनि उल्लेख्य वृद्धि देखिएको छ। भेनियर सिट ९१.१०% छुर्पी ६३.३०% अदुवा तथा सुठो १०१.८०% काउली, ब्रोकाउली र बन्दागोपी ३६.१०% मुसुरो दाल ३१६.२०% जडीबुटी ९२.९०% यस्तै, प्लाउड ४०.९० प्रतिशत र अम्रिसो २४.९० प्रतिशतले घटेको छ। मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म कुल रु १६ अर्ब तीन करोड १५ लाख ८३ हजार बराबरको मालवस्तु निर्यात भएको तथ्याङ्कमा उल्लेख छ। अलैँची निर्यातमा आएको उल्लेख्य वृद्धिले पूर्वी नेपालको कृषि–आधारित अर्थतन्त्रमा थप उत्साह थपेको देखिन्छ।