सुन र चाँदी दुवै हालसम्मकै महँगो, तोलामा २ लाख ७० हजार नाघ्यो

सुन र चाँदी दुवै हालसम्मकै महँगो, तोलामा २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको भाउ आज हालसम्मकै उच्च तहमा पुगेको हो ।

यसअघि गत पुस १३ गते सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो । सो दिन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुन प्रतितोला दुई लाख ६७ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। यस आधारमा सुनको मूल्य दुई हजार ८ सय रुपैयाँले बढेको हो ।

यसैगरी, चाँदीको मूल्य पनि आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला चार हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार ९ सय ९० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय १० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने आइतबार सुन प्रतिऔंस चार हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha