विप्रेषणमा ३५.६ प्रतिशतको छलाङ, ५ महिनामै भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

विप्रेषणमा ३५.६ प्रतिशतको छलाङ, ५ महिनामै भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा चालु खाता र शोधनान्तर बचतमा देखिएको छ भने विप्रेषण र मुद्रा सञ्चिति पनि उल्लेख्य रुपमा बढेको छ । अर्थतन्त्रका बाह्य सूचक सुविधाजनक अवस्थामा रहँदा राजस्व संकलन, बजेट खर्च तथा कर्जा विस्तार भने कमजोर देखिएको छ ।

प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ । त्यस्तै यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रहेको छ ।

अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चितिले १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको छ ।

पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.६ प्रतिशतले र अमेरिकी डलरमा २९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको कूल विप्रेषण आप्रवाह आठ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ भने मंसिर महिनामा मात्र एक खर्ब ८३ अर्ब १८ करोड विप्रेषण  भित्रिएको छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो पाँच महिनामा निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले बढेको छ ।

यो अवधिमा नेपाल सरकारको खर्च पाँच खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन चार खर्ब ६ अर्ब ३० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको हो ।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तर बैंक दर २.७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.२६ प्रतिशत रहेको छ ।

Tokha