एक वर्षमा सात हजार पाँच सय बढी विपद्का घटना, आगलागी सबैभन्दा बढी

एक वर्षमा सात हजार पाँच सय बढी विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ, २५ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार पछिल्लो एक वर्षमा देशभर कुल ७,५४७ वटा विपद्का घटना भएका छन्। यी घटनाबाट १३,५०४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

बाढी, पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी र हिमपहिरोजस्ता विपदका कारण वर्षभरि ठूलो मात्रामा जनधनको क्षति भएको देखिन्छ। प्राधिकरणका अनुसार सामान्य सावधानी अपनाउँदा पनि रोक्न सकिने आगलागीका घटना सबैभन्दा धेरै देखिएका छन्।

एक वर्षमा मात्र ३,६५२ वटा आगलागीका घटना भएका छन्, जसमा १०४ जनाको मृत्यु भएको छ। यसका साथै ५६३ जना घाइते भएका छन् भने ४,१८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

बाढीका ३२८ घटनामा ३९ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् र १४ जना घाइते भएका छन्। त्यस्तै, ६२१ पहिरोका घटनामा ७६ जनाको मृत्यु भएको छ। भारी वर्षाका ४४६ घटनामा ७ जनाको मृत्यु र २० जना घाइते भएका छन्।

चट्याङका ४१९ घटनामा ४८ जनाको ज्यान गएको छ भने ३१२ जना घाइते भएका छन् र ५२२ परिवार प्रभावित भएका छन्। यसैगरी, हावाहुरीका ४७७, वन डढेलाका ३२४, जनावर आक्रमणका ५०९ तथा लेक लाग्ने १३१ घटना भएका छन्।

प्राधिकरणका अनुसार गत वैशाख १ देखि चैत २४ गतेसम्मको अवधिमा विपद्का कारण कुल ४९० जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन्। साथै, १,९६५ जना घाइते भएका छन्।

यस तथ्याङ्कले विपद् जोखिम न्यूनीकरणमा अझ प्रभावकारी तयारी, सचेतना र पूर्वसतर्कता आवश्यक रहेको स्पष्ट देखाएको छ।

Tokha