काठमाडौँ, २५ चैतः काठमाडौँ महानगरपालिका ले करिब दुई सय वर्ष पुरानो गगनेश्वर महादेव मन्दिरको अधुरो पुनर्निर्माण कार्य पूरा गर्ने भएको छ।
वडा नं. ३२ मा अवस्थित उक्त मन्दिर प्रदेश सरकारबाट प्राप्त बजेटबाट निर्माण सुरु गरिएको भए पनि रकम अभावका कारण जगमै काम रोकिएको थियो। अब महानगरपालिकाले तीन तलासहित मन्दिर निर्माण सम्पन्न गर्ने योजना अघि बढाएको छ।
कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत का अनुसार वि.सं. १९९० को नेपाल–बिहार भूकम्प १९३४ ले मन्दिर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। पुनर्निर्माण प्रक्रियामा पुरातत्व विभाग बाट समयमै निर्णय नआउँदा समस्या उत्पन्न भएको बताउँदै उनले आवश्यक लिखित प्रमाण नभए जनश्रुति, गुठियार र सामाजिक मान्यताका आधारमा पनि निकास दिनुपर्ने धारणा राख्नुभयो।
उनले प्रक्रिया पूरा गर्न आफूहरू तयार भए पनि अनावश्यक ढिलाइ स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
वडा नं. ३२ का वडाध्यक्ष नवराज पराजुली ले विवादरहित योजनालाई मात्र कार्यान्वयनमा लैजाने बताउँदै सहमति भएमा काम अघि बढाउन तयार रहेको जानकारी दिनुभयो। साथै जनताबाट उठेको कर उपयुक्त क्षेत्रमा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई का अनुसार मन्दिरलाई तीनछाने शैलीमा निर्माण गर्ने निर्णय भएको छ। यसबारे पुरातत्व विभाग सँग थप छलफल गरिनेछ।
हाल मन्दिरको प्रारम्भिक संरचना निर्माण भइसकेको छ। अब सोही संरचनामा काम अगाडि बढाउन सकिने वा नसकिने विषयमा प्राविधिक अध्ययन गरिनेछ। जमिनमाथि देखिने भागको प्राविधिक मूल्याङ्कन र जमिनमुनिको संरचनाबारे उपभोक्ता समिति तथा सम्बन्धित निकायबाट प्रतिवेदन लिएर मात्रै थप काम अघि बढाइने निर्णय गरिएको छ।
यसैबीच, कामपाले कोटेश्वर महादेव मन्दिर को पुनर्निर्माण सम्बन्धी मागमा पनि छलफल गर्दै तत्काल सामान्य मर्मतसम्भार जारी राख्ने र आवश्यकताको अध्ययन गर्ने निर्णय गरेको छ।
































