पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली र वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर बदली र वर्षाको सम्भावना

काठमाडौँ, २५ चैतः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहँदा मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ। यसको प्रभावले देशका विभिन्न भागमा आंशिकदेखि पूर्ण बदली रहने अवस्था बनेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रहरूमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ। यद्यपि, पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने सम्भावना छ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ। मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रका केही स्थानहरू पनि यसबाट प्रभावित हुन सक्छन्।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ। विशेषगरी कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा पहाडी–हिमाली क्षेत्रका साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाशाखाले मेघगर्जन, चट्याङ, हुरी तथा असिनाबाट प्रभावित हुन सक्ने क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनकर्ताहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Tokha