काठमाडौं, २४ चैत । सामाजिक सञ्जालमा किशोरीहरूमाथि हुने ‘साइबर बुलिङ’ र दुर्व्यवहारका घटना बढेको भन्दै नेकपा (एमाले)का महिला सांसदहरूले प्रहरीमा उजुरी दिएका छन् ।
एमाले सचिव पद्माकुमारी अर्याल र केन्द्रीय सदस्य रामकुमारी झाँक्रीसहित १८ जना महिला सांसदको टोलीले भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमै पुगेर लिखित उजुरी दर्ता गराएको हो ।
सांसदहरूले दिएको उजुरीमा सामाजिक सञ्जाल तथा भर्चुअल माध्यमबाट किशोरीहरूमाथि भइरहेको घृणास्पद टिप्पणी, अपमान र बुलिङले उनीहरूको मानसिक स्वास्थ्य र आत्मसम्मानमा गम्भीर असर पारेको उल्लेख छ ।
साइबर अपराधका कारण किशोरीहरू मानसिक उत्पीडनको सिकार बनिरहेको भन्दै सांसदहरूले यस्ता घटनाको तत्काल छानबिन गर्न प्रहरीसँग माग गरेका छन् । प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न प्रहरीको ध्यानाकर्षण गराइएको छ ।
































