सुर्खेत । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सिमानामा खटिने सुरक्षाकर्मीहरूलाई राष्ट्रको वास्तविक रक्षकका रूपमा आत्मसात गराउनुपर्नेमा जोड दिएका छन्। सुर्खेतमा रहेको नं, ६ महेश्वरी बाहिनी मुख्यालयको २५ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले भने, ‘हामी हरेक सिमानाका रक्षक, पिल्लर र पर्खाल हौं भन्ने अनुभूति सिमानामा उभिने जवानलाई गराउन सक्नुपर्छ। त्यसपछि मात्र तराईको तातोले पोल्दैन, हिमालको हिउँले पनि असर गर्दैन।’
आईजीपी अर्यालका अनुसार जवानले आफूले गरेको ड्युटीको महत्व महसुस गर्न सके मात्र उनीहरू अझ जिम्मेवार र समर्पित बन्छन्। उनले कमाण्डरहरूको भूमिकालाई उल्लेख गर्दै यस्तो भावना जवान तहसम्म पुर्याउनुपर्ने बताए।































