काठमाडौं — प्रतिनिधिसभाले कार्यसञ्चालन नियमावली तयार गर्न १५ सदस्यीय मस्यौदा समिति गठन गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले गणेश पराजुली को सभापतित्वमा समिति गठन गरेको हो। समितिको प्रस्ताव कविन्द्र बुर्लाकोटी ले प्रस्तुत गरेका थिए, जसलाई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूले समर्थन गरेपछि समिति सर्वसम्मत रूपमा गठन भएको हो।
समितिमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निष्कल राई, वलावती शर्मा, मधु चौलागाईं, रेखा कुमारी यादव, यज्ञमणी न्यौपाने र सुलभ खरेल सदस्य रहेका छन्।
समितिले सभामुख डोलप्रसाद अर्याल को निर्देशनमा कार्यविधि तयार गर्नेछ भने आवश्यक परे विशेषज्ञहरूको सहयोग लिन सक्नेछ। समितिको कार्यअवधि १४ दिन तोकिएको छ।
यसअघि सोमबार बिहान बसेको सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली निर्माण गर्ने निर्णय गरेको थियो।
यसैबीच, सभामुख अर्यालले प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति पनि गठन गरेका छन्। उनले उक्त समितिमा विभिन्न दलका सांसदहरूलाई मनोनयन गरिएको जानकारी दिएका छन्।
सभामुखका अनुसार समितिमा अच्युतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य रहेका छन्।































