काठमाडौं, २२ चैत – सरकारले अवैध रूपमा सञ्चालनमा रहेका सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइटहरू बन्द गरेको छ। यो कदम मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वयमा उठाएको हो।
एनटीए का उपनिर्देशक सूर्यप्रसाद लामिछानेले भने, “पहिचान भएका सबै अवैध सट्टेबाजी एप र वेबसाइट बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिइएको थियो। हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भइसकेका छन्।”
गत चैत १३ गते मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’को बुँदा नम्बर ४२ अनुसार, सट्टेबाजी एप तथा वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्नुपर्ने व्यवस्था थियो।
नेपालको कानून अनुसार सट्टेबाजी र जुवा पूर्ण रूपमा निषेधित छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) ले सट्टेबाजी गर्नेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने प्रावधान राखेको छ। यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले अनुमति बिना सट्टेबाजी प्रचार गर्न निषेध गरेको छ।
सरकारले सर्वसाधारणलाई कुनै पनि प्रकारका सट्टेबाजी एप वा वेबसाइट प्रयोग नगर्न चेतावनी दिएको छ र शङ्कास्पद प्लेटफर्म भेटिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।































