एजेन्सी / डोनाल्ड ट्रम्प ले तेहरानमा गरिएको एक ठूलो हमलामा इरानका “धेरै सैन्य नेताहरू” मारिएको दाबी गरेका छन्। उनले उक्त हमलासँग सम्बन्धित भिडियो फुटेज पनि सार्वजनिक गरेका छन्, तर हमलाको विस्तृत विवरण र लक्षित स्थानबारे स्पष्ट जानकारी दिएका छैनन्।
तेहरान केन्द्रित उक्त हमलापछि ट्रम्पले इरानले कुनै सम्झौता नगरे “ठूलो कहर” व्यहोर्नुपर्ने चेतावनी पुनः दोहोर्याएका छन्।
यता, इरान ले पनि कडा प्रतिक्रिया जनाउँदै अमेरिका र इजरायलले द्वन्द्व चर्काए सम्पूर्ण क्षेत्र “नरकमा परिणत हुने” चेतावनी दिएको छ। हालै इरानले खाडी मुलुकहरू, इराक र इजरायललाई लक्षित गर्दै थप मिसाइल आक्रमण गरेको जनाएको छ।
यसैबीच, दक्षिणी इरानको आकाशमा एक F-15 लडाकु विमान खसालिएको घटनापछि एक अमेरिकी सैनिक बेपत्ता भएका छन्। खोजी अभियान जारी रहेको छ भने एक पाइलटलाई सुरक्षित उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानी अधिकारीहरूले सर्वसाधारणलाई उक्त अमेरिकीलाई “जिउँदै” फेला पार्न आग्रह गर्दै जानकारी दिनेहरूलाई पुरस्कार दिने घोषणा गरेका छन्। खोज तथा उद्धार अभियानमा संलग्न अर्को A-10 Warthog विमानमा पनि आक्रमण भएको जनाइएको छ, यद्यपि त्यसका चालक सुरक्षित रहेका छन्।
उल्लेखनीय छ, गत साता ट्रम्पले इरानलाई वार्ताको अवसर दिन ऊर्जा संरचनामाथि हुने आक्रमण १० दिनका लागि रोक्ने घोषणा गरेका थिए। तर, द्वन्द्व बढ्दै जाँदा अवस्था झन् तनावपूर्ण बनेको छ।
यो संघर्ष फेब्रुअरी २८ देखि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको बताइएको छ। त्यसयता हजारौँ मानिसको ज्यान गएको, विश्व बजारमा तेलको मूल्य वृद्धि भएको तथा महत्वपूर्ण समुद्री मार्गहरू प्रभावित भएका छन्। साथै, दुवै पक्षले नागरिक क्षेत्रलाई समेत लक्षित गर्ने धम्की दिँदै आक्रमण गरेका कारण सम्भावित युद्ध अपराधबारे अन्तर्राष्ट्रिय चिन्ता बढेको छ।































