अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुरेन्द्र पौडेल

अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुरेन्द्र पौडेल

काठमाडौं, २२ चैत / नेपाल अटोपत्रकार संघ (जाम नेपाल) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। भक्तपुरको नगरकोटमा शुक्रबार र शनिबार सम्पन्न चौथो साधारणसभा तथा अधिवेशनले सुरेन्द्र पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष पौडेल आर्थिक आवाज अनलाइन मिडियामा आवद्ध छन् र यसअघि संघको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

यसैगरी, उपाध्यक्षमा तोयानाथ पौडेल चयन भएका छन्। अटोमोइल म्यागजिन तथा नेपाल अटो अनलाइनका सञ्चालक रहेका उनी अघिल्लो कार्यसमितिमा महासचिव थिए।

महासचिवमा प्रयास श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। उनी शिलापत्र अनलाइनमा आवद्ध छन् र यसअघि सचिवको जिम्मेवारीमा थिए।

त्यस्तै, सचिवमा बसन्त अर्याल र कोषाध्यक्षमा हरिप्रसाद गजुरेल चयन भएका छन्।

नयाँ कार्यसमिति सदस्यहरूमा सौरभ नेपाल, अमृत चिमरियाकमला भण्डारी सर्वसम्मत रूपमा चयन भएका छन्।

संघको संशोधित विधानअनुसार ११ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ, जसमा निर्वाचित सदस्यहरूले निवर्तमान अध्यक्षसहित थप दुई सदस्य चयन गर्नेछन्। कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

निवर्तमान अध्यक्ष सागर गजुरेल ले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेतृत्व हस्तान्तरण गरेका छन्। साथै, संघका संस्थापक एवं पूर्वअध्यक्ष उज्ज्वल जंग शाह ले अटोमोबाइल पत्रकारहरूको क्षमता विकासमा संघले निरन्तर काम गर्ने विश्वास व्यक्त गरेका छन्।

Tokha