मतदाता नामावली सङ्कलन आजदेखि पुनः सुरु : राष्ट्रिय परिचयपत्र हुनेले अनलाइनबाटै दर्ता गर्न पाउने

मतदाता नामावली सङ्कलन आजदेखि पुनः सुरु : राष्ट्रिय परिचयपत्र हुनेले अनलाइनबाटै दर्ता गर्न पाउने

काठमाडौँ, २२ चैत । निर्वाचन आयोगले करिब चार महिनादेखि स्थगित रहेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य आज (आइतबार) देखि पुनः सुरु गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि रोकिएको यो प्रक्रिया आयोगको चैत १८ गतेको निर्णयानुसार सुचारु भएको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसपटकको सङ्कलन प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाइएको छ। अब राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले आफ्नो परिचयपत्रको विवरण प्रयोग गरी अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध भई नसकेका नागरिकहरूको हकमा भने आयोगले ‘प्रि–इनरोलमेन्ट’ प्रणाली कार्यान्वयनमा ल्याएको छ। यस्ता आवेदकले अनलाइन फारम भरे पनि आफ्नो फोटो तथा औँठाछाप (जैविक विवरण) दिनका लागि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन चाहने वा अन्य विवरण अद्यावधिक गर्न चाहनेहरूका लागि पनि आयोगले अनलाइन माध्यमबाटै आवेदन दिन सक्ने सुविधा दिएको छ।

Tokha