काठमाडौं, १९ चैत्र । काठमाडौं महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ।
महानगरले रातिको समयमा यात्रा गर्ने यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागेको जनाएको छ। प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाभित्र दुईवटा मुख्य रुटमा सेवा सञ्चालन गरिनेछ।
उत्तर–दक्षिणतर्फको १६ किलोमिटर लामो रुट ललितपुरको लगनखेलदेखि बुढानीलकण्ठसम्म सञ्चालन हुनेछ। उक्त रुट पाटन अस्पताल, नर्भिक अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल र टिचिङ अस्पताल हुँदै जानेछ।
त्यसैगरी, पूर्व–पश्चिम दिशाको २० किलोमिटर लामो रुट थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म सञ्चालन गरिनेछ। यो रुट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर र तीनकुने हुँदै जानेछ।
महानगरका अनुसार रात्रिकालीन बस सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ भने हरेक २० मिनेटमा बस उपलब्ध गराइनेछ। यात्रुको सुरक्षाका लागि बसभित्र सिसिटिभी क्यामेरा जडान गरिने र नगर प्रहरीसमेत खटाइने व्यवस्था मिलाइनेछ।
कार्यवाहक प्रमुख सुनिता डंगोल ले रातिको समयमा सार्वजनिक यातायात अभावका कारण यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएको अवस्थालाई अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको बताइन्। उनले विशेष गरी महिला, किशोरी र विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिइएको उल्लेख गरिन्।
महानगरले आगामी दिनमा सार्वजनिक यातायातलाई सुरक्षित, सहज र दिगो प्रणालीका रूपमा विकास गर्ने लक्ष्यसमेत लिएको जनाएको छ।
































