काठमाडौं । नेकपा एमालेले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगबार (चैत १७) बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले भने, “हाम्रो पार्टी र जनसंगठनका तर्फबाट भएका विरोध प्रदर्शनमा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी उत्तेजित बनाउने सरकारको कामप्रति बैठकले गम्भीर आपत्ति जनाएको छ ।”
यस्तै, कार्यालय परिसरमा प्रहरी पसेर नेता तथा कार्यकर्तामाथि भएको लाठीचार्ज र भएका धरपकडको पनि एमालेले निन्दा गरेको छ ।
सरकार गठनलगत्तै भएको धरपकडले सरकार राज्यआतंकतर्फ उन्मुख भएको एमालेको ठहर छ ।
































