प्रधानमन्त्री बालेन शाहसँग सांसदहरूको छलफल, ओलीको रिहाइ माग

प्रधानमन्त्री बालेन शाहसँग सांसदहरूको छलफल, ओलीको रिहाइ माग

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग निरन्तर छलफल गरिरहेका छन्। सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग संवाद गरेका उनले मंगलबार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन्।

प्रदेशका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बजेटको सीमाभित्र रहेर जरुरी योजनाहरू अगाडि बढाउने तयारी रहेको बताए। छलफलका क्रममा कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले प्रदेशमा हालसम्म अघि बढ्न नसकेका योजनाहरूको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए।

सांसद कोइरालाका अनुसार सुदूरपश्चिम प्रदेशका तत्काल आवश्यक २ अर्ब ६० करोड रुपैयाँ आसपासको बजेट विनियोजनका लागि आग्रह गरिएको थियो र प्रधानमन्त्री शाहले यसमा सकारात्मक जवाफ दिएका छन्। प्रधानमन्त्रीले बजेटको आकारअनुसार अत्यन्त जरुरी परियोजनाहरूलाई प्राथमिकतामा राखी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलका क्रममा एमाले सांसद ऐनबहादुर महरसहितका सांसदहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरेका थिए। तर, प्रधानमन्त्री शाहले उक्त विषयमा कुनै प्रतिक्रिया नदिएको एक सहभागी सांसदले जानकारी दिएका छन्।

छलफलमा महरले कर्मचारीतन्त्रका कारण विकासका कामहरू प्रभावित भएको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याएका थिए। त्यसको जवाफमा प्रधानमन्त्री शाहले समस्या राजनीतिक नेतृत्वबाटै सुरु भएको संकेत गर्दै कांग्रेस र एमालेले नै सुधारको पहल गर्नुपर्ने बताएका थिए।

यसैगरी, गेटा अस्पताल निर्माणको विषय उठ्दा प्रधानमन्त्री शाहले आफू पूर्ण रूपमा सकारात्मक रहेको जनाउँदै आवश्यक परे तुरुन्त निर्णय गर्न तयार रहेको बताएका थिए।

सांसदहरूले सेती लोकमार्ग निर्माणलाई तीव्रता दिनुपर्नेमा पनि जोड दिएका थिए। विशेषतः कैलालीको खक्रौला नाकादेखि चीनको ताक्लाकोटसम्म सडक विस्तार गर्न सुझाव दिइएको थियो। प्रधानमन्त्री शाहले उक्त विषयमा पनि चासो देखाएको बताइएको छ।

यसअघि, सोमबार उनले कोशी र कर्णाली प्रदेशका विभिन्न दलका सांसदहरूसँग समेत छलफल गरी आवश्यक योजनाका विषयमा संवाद गरेका थिए।

Tokha