रूवी भ्यालीमा सेर्तुङ–चालिस सडक सम्पन्न, मन्त्री दिनेशचन्द्र देवकोटाद्वारा उद्घाटन

रूवी भ्यालीमा सेर्तुङ–चालिस सडक सम्पन्न, मन्त्री दिनेशचन्द्र देवकोटाद्वारा उद्घाटन

धादिङको दुर्गम क्षेत्रमा सडक विस्तार

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकामा पेन्तिस्या चालिस सेर्तुङ सडक निर्माण कार्य सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट स्वीकृत वार्षिक कार्यक्रमअनुसार रुवी भ्यालीको वडा नम्बर ३ मा पर्ने उक्त सडक निर्माण सम्पन्न भएको हो ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले गत चैत १२ गते उक्त सडकको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले दुर्गम क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सेर्तुङ–चालिस सडकले स्थानीय जनताको दैनिकी सहज बनाउने, आर्थिक गतिविधि विस्तार गर्ने तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष रामसिंह तामाङले सडक विस्तारसँगै रूवी भ्यालीमा विकासको गति तीव्र हुने बताए । उनले आफ्नो कार्यकालभित्र सबै वडामा सडक सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिँदै थप स्तरोन्नति र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने बताए ।

उपाध्यक्ष फेलामा तामाङले सेर्तुङ–चालिस सडक उद्घाटनले स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे । उनले दुर्गम बस्तीमा सडक विस्तार हुनु भनेको केवल यातायात सहजता मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका अवसरमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै वडा अध्यक्ष समिर गुरुङले सडक सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको यातायात पहुँच सहज हुने र बजारसँगको पहुँच विस्तार हुने बताए । बागमती प्रदेश सरकारको बजेट विनियोजनमार्फत निर्माण गरिएको उक्त सडकसँगै रूवी भ्याली क्षेत्रमा विकासको नयाँ ढोका खुलेको स्थानीयवासीले बताएका छन् ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, उपाध्यक्ष फेलामा तामाङ, वडा अध्यक्ष समिर गुरुङ तथा पूर्वाधार कार्यालय धादिङका प्रमुखलगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो  ।

सडक उद्घाटनका क्रममा मन्त्री देवकोटालगायत सहभागिहरुले निर्माण सम्पन्न भएको सडकको निरीक्षण पनि गरेका थिए । त्यसक्रममा सडक रहेको ठाउँको भौगोलिक अवस्था कठीन रहेको र पहिरोको जोखिम रहेकाले रिटेनिङ वाल पनि आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराइएको थियो ।

त्यसक्रममा खनियावास गाउँपालिकाको कार्यालयमा बैठक बसेर सडककालगायत पूर्वाधारका विषयमा छलफल भएको थियो । खनियावासका अध्यक्ष रणबहादुर तामाङले मन्त्री देवकोटासमक्ष समस्या सुनाएका थिए ।
सानकोस सडक खण्डको स्तरउन्नतिका लागि तत्काल बजेट व्यवस्थापन गरी कार्यक्रम अघि बढाउन मागसमेत गरिएको छ । सडक निर्माणसँगै पर्यटन विकासमा टेवा पुग्ने भएकाले आयआर्जनमा पनि सहयोग पुग्ने विश्वास स्थानीय तहले लिएका छन् ।

Tokha