नेपाली कांग्रेसका सभापति गगन थापा ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताहरूका घरमा भेटिएको भनिएको पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले सो विषय केवल सार्वजनिक चर्चा मात्र नभई निष्कर्षमा पुग्ने गरी अनुसन्धान आवश्यक रहेको बताए। “जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ,” थापाले भने।
जेनजी आन्दोलनकै क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा को बुढानीलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका थिए। सो घटनामा उनी र तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथि आक्रमण भएको बताइएको छ। आगजनीका क्रममा घरभित्र जलेको पैसा देखिने भिडियोहरू पनि सार्वजनिक भएका थिए।
त्यस्तै, कांग्रेस नेता दीपक खड्का को बुढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको र त्यहाँ पनि जलेको पैसा देखिएको भिडियो सार्वजनिक भएको थियो।
थापाले अख्तियार दुरुपयोग र नीतिगत भ्रष्टाचारका विषयमा समेत तथ्यमा आधारित छानबिन आवश्यक रहेकोमा जोड दिएका छन्।

































