काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा रहेको धुम्रबराह माविले ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । सोमबार पुरस्कार वितरण कार्यक्रमसमेत गरेको विद्यालयले विभिन्न आरोह अवरोहबीच पार गरेका ६३ वर्षको उपलब्धि सुनाएको थियो ।
कार्यक्रममा विद्यालयकी प्रधानध्यापक सुजाता राजलवडले धेरै चुनौतीकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भइरहेको बताइन् । बाहिर हेर्दा हाँसेको देखिए पनि पीडाहरु भोग्नुपरेको उल्लेख गर्दै उनले विद्यालयका सम्पूर्ण शिक्षक र कर्मचारी, विद्यालय व्यवस्थापन समिति र पिटिएको साथ महत्वपूर्ण रहेको बताइन् । “म एक्लो प्रअले केही गर्न सक्दिन ।” उनले भनिन् ।
संस्कारयुक्त प्रविधिमैत्री विद्यार्थी उत्पादन गर्ने विद्यालयको प्रमुख लक्ष्य रहेको उनले बताइन् । लक्ष्य मात्र नभै व्यवहारमा पनि विद्यालय प्रतिबद्ध रहेको प्रधानध्यापकले बताइन् । विद्यार्थीलाई सन्देश दिँदै उनले परीक्षामा अंक मात्र महत्वपूर्ण नभै नैतिकवान र संस्कारी बन्नुपर्नेतर्फ पनि सचेत हुनुपर्ने बताइन् ।
विद्यालयमा खाजा खानका लागि क्यान्टिनसमेत नरहेको गुनासो गर्दै प्रधानध्यापाकले खाजाको व्यवस्थापनका लागि बजेट भए पनि चुनौती रहेको उल्लेख गरिन् । क्यान्टिन निर्माण गरिदिन शिक्षा विभागलाई प्रधानध्यापक सुजाताले आग्रह गरेकी छिन् ।
विद्यालय सुरक्षित बनाउनका लागि कम्पाउण्ड र गेट निर्माण पनि आवश्यक रहेको उनले बताइन् । त्यसैगरी विद्यार्थीलाई खेल कार्यक्रम अनिवार्य भए पनि मैदान नभएको पनि सुनाइन् ।

काठमाडौंको मुटुमा रहेको विद्यालयलाई भोलिका दिनमा विश्वविद्यालयसमेत बनाउने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ । .
विद्यालयमा हाल इसिडीदेखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ। विद्यालयमा हाल ४१३ जना विद्यार्थी अध्ययनरत छन्।
विद्यालयमा १८ जना शिक्षक कार्यरत रहे पनि शिक्षक संख्या न्यून रहेको व्यवस्थापन पक्षले जनाएको छ। साथै, विद्यालयमा एक जना लेखापाल र एक जना सहयोगी कर्मचारी रहेका छन्।
विद्यालयले सीमित स्रोतसाधनका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्न प्रयासरत रहेको जनाएको छ। तर, विद्यार्थी संख्याको तुलनामा शिक्षक अभावले शैक्षिक गुणस्तरमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

विद्यालय प्रशासनले आवश्यक शिक्षक दरबन्दी थप गर्न सम्बन्धित निकायसँग माग गरेको छ। प्रधानध्यापक सुजाताले शिक्षा विभागले विषय शिक्षकको व्यवस्था गरिदिनुपर्नेतर्फ ध्यानाकर्षण गराइन् । त्यसैगरी सफाइ कर्मचारीको पनि माग गरिन् ।
विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले वार्षिकोत्सव मनाउन पनि समस्या भएको भन्दै काठमाडौं महानगरपालिकाले वार्षिक डेड करोड रुपैयाँ उपलब्ध गराइदिनुपर्ने माग गरेकी छिन् ।
विद्यालयको भौतिक संचरना पनि कमजोर रहेको अवस्थामा नवनिर्वाचि सांसद सस्मित पोखरेलको पहलमा डेस्क बेन्च नयाँ ल्याउन सफल भएको जानकारी दिइन् । विद्यालयमा हुने पठन पाठनलाई आधुनिक प्रविधियुक्त बनाउन पनि लागिपरेको उनले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले सामुदायिक विद्यालय सुधारका लागि गुरुयोजना बनाएर काम गरिरहेको जानकारी दिए । विद्यालयलाई आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको बताए । प्रधानध्यापक राजलवडले सुनाएका समस्या समाधानका लागि महानगरले काम गर्ने ढकालको प्रतिबद्धता छ ।
शैक्षिक सामग्रीदेखि भौतिक संरचना अभाव हुन नदिन महानगरले काम गरिरहेको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव त्रिपाठीले विद्यालय चुनौतीकाबीच सफलताको बाटोमा अघि बढिरहेको बताए । काठमाडौं महानगरभित्र रहका ८९ विद्यालयमध्ये उत्कृष्ट १२ भित्र पर्न सफल भएको जानकारी गराए । काठमाडौं महानगरको सहयोगमा विद्यालयका विभिन्न भौतिक संरचना निर्माणको प्रक्रियामा रहेको उनले बताए ।
विद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्ने अध्यक्ष त्रिपाठीको भनाइ छ ।

त्यसैगरी काठमाडौ महानगरपालिका वडा नम्बर ४ का सदस्य नविन मैनालीले पढाईले मात्र विद्यार्थी पूर्ण हुन नसक्ने भएकाले अतिरिक्त क्रियाकलाप पनि गर्नुपर्ने बताए । महानगरको नीतिगत सुधारले सामुदायिक विद्यालयको सुधार भइरहेको मैनालको जिकिर छ । विद्यालयको हितका लागि स्थानीय तह सधैँ साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए । शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक तालिमलाई पनि प्राथमिकता दिनुपर्ने सुझाब पाठकले दिए । धुम्रबराह माविको अक्षयकोषका लागि दिलभूषणका पिताले सहयोग गर्दै आएका छन् ।
फागनु १२ गते नै मनाउनुपर्ने भए पनि निर्वाचन आचारसंहिताका कारण चैत २ गते वार्षिकोत्सव मनाइएको हो ।

































