काठमाडौंमा वायु प्रदूषण बढेपछि महानगरको अपिल

काठमाडौंमा वायु प्रदूषण बढेपछि महानगरको अपिल

काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि नागरिकलाई सतर्क रहन र प्रदूषण घटाउन सहयोग गर्न अपिल गरेको छ।

महानगरका अनुसार काठमाडौं क्षेत्रमा गरिएको वायु गुणस्तर निगरानीमा Air Quality Index (AQI) १५१ भन्दा माथि पुगेको देखिएको छ, जसलाई अस्वस्थ स्तर मानिन्छ। वायु प्रदूषणका प्रमुख कारणहरूमा सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यका क्रममा उठ्ने धुलो, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँ र खुला रूपमा फोहोर जलाउने गतिविधि रहेको महानगरले जनाएको छ।

प्रदूषण बढ्दा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरू बढी जोखिममा पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

महानगरपालिकाले वायु प्रदूषण नियन्त्रणका लागि खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध लगाएको समेत जनाएको छ। साथै प्रदूषण मापदण्ड विपरीत धुवाँ उत्सर्जन गर्ने सवारीसाधनलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।

महानगरले नागरिकलाई निम्न उपाय अपनाउन पनि आग्रह गरेको छः

  • सवारीसाधनको नियमित मर्मत गरी प्रदूषण कम गर्ने

  • प्रदूषण मापदण्ड अनुसार सवारी चलाउने

  • प्लास्टिक तथा अन्य फोहोर खुला रूपमा नजलाउने

  • निर्माण सामग्री सडक तथा फुटपाथमा नराख्ने

  • उद्योग तथा कलकारखानाले प्रदूषण नियन्त्रण मापदण्ड पालना गर्ने

  • व्यक्तिगत सुरक्षाका लागि मास्क प्रयोग गर्ने

महानगरले वायु गुणस्तर सम्बन्धी थप जानकारीका लागि आफ्नो वेबसाइट र सरकारी प्रदूषण अनुगमन पोर्टलबाट जानकारी लिन सकिने जनाएको छ।

Tokha