मकवानपुर। राक्सिराङ गाउँपालिकाले महिलालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सिलाइ–कटाइ तालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत १२ जना महिलाका लागि तीन महिनासम्म सञ्चालन हुने तालिममा सहभागी हुन आवेदन आह्वान गरेको हो।
गाउँपालिकाद्वारा जारी सूचनाअनुसार तालिममा सहभागी हुन इच्छुक महिलाले तोकिएको मापदण्ड पूरा गर्नुपर्नेछ। सहभागी हुने महिलाहरू राक्सिराङ गाउँपालिकाका स्थायी बासिन्दा हुनुपर्नेछ। साथै विपन्न, चेपाङ, दलित, जनजाति तथा एकल महिलालाई विशेष प्राथमिकता दिइने जनाइएको छ। तालिम अवधिभर नियमित रूपमा उपस्थित हुन सक्ने महिलालाई मात्र छनोट गरिनेछ।
तालिममा सहभागी हुन चाहने महिलाले आवेदन फाराम, नेपाली नागरिकताको प्रतिलिपि तथा पासपोर्ट साइजको दुई प्रति फोटो सहित आवेदन पेश गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०८२ मंसिर २ गतेसम्म तोकिएको छ।
गाउँपालिकाका अनुसार तालिम राक्सिराङ–५, चैनपुर मा सञ्चालन हुनेछ भने आवेदन राक्सिराङ गाउँपालिकाको कार्यालयमा बुझाउन सकिनेछ।
गाउँपालिकाले सीप विकासमार्फत महिलाको आयआर्जन बढाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित तालिम सञ्चालन गर्न लागिएको जनाएको छ।
































