हेटौँडा। हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बेरोजगार व्यक्तिहरूको सूचिकरण प्रक्रिया सुरु गरेको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेको रोजगार सेवा केन्द्रले सबै वडा कार्यालयमार्फत बेरोजगार व्यक्तिहरूलाई सूचिकरणका लागि आवेदन दिन आह्वान गरेको हो।
उपमहानगरपालिकाले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरूको अभिलेख तयार पार्न सूचिकरण प्रक्रिया अघि बढाएको जनाएको छ। रोजगारको हक सम्बन्धी ऐन, २०७५ तथा राष्ट्रिय रोजगार कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७५ अनुसार सूचिकरण अभियान सञ्चालन गरिएको हो।
सूचनाअनुसार १८ वर्ष पूरा भई ५९ वर्ष ननाघेका हेटौँडा उपमहानगरपालिकाका स्थायी बासिन्दा बेरोजगार व्यक्तिहरूले सम्बन्धित वडा कार्यालयमार्फत बेरोजगार दर्ता फाराम भरी आवेदन दिन सक्नेछन्। यसअघि तोकिएको फागुन महिनाको समयसीमा विशेष परिस्थितिका कारण थप गरी चैत मसान्तसम्म बेरोजगार दर्ता गर्ने अवसर प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।
सूचिकरणका लागि निवेदकले नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइज फोटो, बसाइँसराइ प्रमाणपत्र (आवश्यक परेमा), शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि तथा तालिम लिएको भए सोको प्रमाणपत्र संलग्न गर्नुपर्नेछ।
रोजगार सेवा केन्द्रका अनुसार बेरोजगारको अभिलेख तयार गरी न्यूनतम रोजगारीका कार्यक्रम तथा अन्य रोजगारीसम्बन्धी योजनामा सहभागी गराउने उद्देश्यले यो प्रक्रिया सञ्चालन गरिएको हो। थप जानकारीका लागि रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ।
































