कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वान

कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वान

हेटौँडा, मकवानपुर। बागमती प्रदेश सरकार अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विकास निर्देशनालय, हेटौँडाले विभिन्न कृषि विकास कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव आह्वान गरेको छ। निर्देशनालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत कार्यक्रम कार्यान्वयन गर्न इच्छुक कृषक, समूह, सहकारी तथा निजी कम्पनीहरूलाई प्रस्ताव पेश गर्न आग्रह गरेको हो।

निर्देशनालयद्वारा प्रकाशित सूचनाअनुसार जग्गा भाडामा लिएर खेती गर्ने कृषकका लागि जग्गा भाडा अनुदान कार्यक्रम सञ्चालन गरिनेछ। यस अन्तर्गत प्रति हेक्टर २० हजार रुपैयाँसम्म अनुदान प्रदान गरिनेछ। कार्यक्रमका लागि १ पटक कार्यक्रम सञ्चालन हुने र कुल ७० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

त्यसैगरी कृषकको क्षमता अभिवृद्धि र कृषि पेशामा आकर्षण बढाउने उद्देश्यले कृषि ज्ञान तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ। कृषि सम्बन्धी अध्ययन पूरा गरी कृषि पेशामा आबद्ध व्यक्तिको प्रत्यक्ष संलग्नतामा कृषकलाई विभिन्न प्रविधि र ज्ञान हस्तान्तरण गरिनेछ। उक्त कार्यक्रमका लागि २० वटा इकाइमा कुल १ करोड ४० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

त्यस्तै, व्यावसायिक च्याउ खेतीलाई प्रवर्द्धन गर्न वातानुकूलित प्रविधिमा च्याउ उत्पादन गर्ने कृषकलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान प्रदान गरिने कार्यक्रम पनि ल्याइएको छ। यसका लागि १ कार्यक्रम सञ्चालन गरिने र ३६ लाख रुपैयाँ बजेट छुट्याइएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार सूचनापछि २१ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा प्रस्ताव पेश गर्न सकिनेछ। समयसीमा भित्र प्राप्त भएका प्रस्तावहरूलाई प्रचलित मापदण्ड र कार्यविधिअनुसार छनोट गरिनेछ।

कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकको आयआर्जन बढाउने उद्देश्यले यी कार्यक्रम सञ्चालन गर्न लागिएको निर्देशनालयले जनाएको छ।

Tokha