हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन आग्रह : पूर्वप्रधानमन्त्री नेपाल

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन आग्रह : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ, १० फागुन: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। आज जारी सन्देशमार्फत उहाँले हिन्दू र मुस्लिम समुदायबीच देखिएको विवाद अन्त्य गर्न संयमता अपनाउन दुवै पक्षलाई आग्रह गर्नुभएको हो। धार्मिक सहिष्णुता आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले सदियौँदेखि मिलेर बसेका समुदायबीच सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। साम्प्रदायिक हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पार्दै उहाँले हिन्दू र मुस्लिम समुदाय एकअर्काका परिपूरक भएको टिप्पणी गर्नुभयो। साथै स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग प्रभावकारी कदम चाल्न मागसमेत गर्नुभएको छ। रौतहट–१ बाट लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका नेता नेपालले वर्तमान समस्याको समाधान आपसी संवादबाट मात्र सम्भव हुने धारणा राख्नुभयो। गौर क्षेत्रमा तोडफोड, आगजनी तथा ढुङ्गा हानाहानका घटना बढेपछि प्रशासनले कफ्र्यु जारी गरेको छ। उक्त अवस्थालाई सामान्यीकरण गर्न आफूले केन्द्रमा गृहमन्त्रीसँग छलफल गरिरहेको उहाँले उल्लेख गर्नुभयो। तीन दिनअघि सामान्य भनाभनबाट सुरु भएको विवाद विस्तार हुँदै साम्प्रदायिक तनावमा परिणत भएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

Tokha