फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
काठमाडौँ, १० फागुन : सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण यथाशीघ्र उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनका क्रममा छुट भएका घाइतेहरूको विवरण उपचारमा संलग्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाले तत्काल मन्त्रालयमा पठाउन भनिएको हो। जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन गठित समन्वय समितिको निर्णयअनुसार फागुन १५ गतेभित्र विवरण उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ। प्रवक्ता डा. बुढाथोकीका अनुसार घाइतेहरूको सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरणसम्बन्धी कार्य निर्धारित समयमै सम्पन्न गर्न फागुन १ देखि १५ गतेभित्र विवरण पठाउन आग्रह गरिएको हो। सो अवधिभित्र प्राप्त निवेदनमाथि छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरिने जानकारीसमेत दिइएको छ। मन्त्रालयका अनुसार हालसम्म २०० जना घाइतेको वर्गीकरण विवरण मात्र प्राप्त भएको छ। प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य घाइतेहरूलाई केही सुविधा उपलब्ध नहुने भएकाले सम्पर्कमा नआएको हुनसक्ने अनुमान गरिएको छ। सरकारले अतिगम्भीर वर्गमा परेका घाइते र उनीहरूको स्याहारकर्तालाई मासिक रु नौ हजार, गम्भीर घाइतेलाई मासिक रु नौ हजार तथा मध्यम घाइतेलाई मासिक रु चार हजार उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रालयको तथ्याङ्कअनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएका छन्।