गुणस्तरीय तथ्याङ्कका लागि मुख्य प्रशिक्षक प्रशिक्षण सुरु

गुणस्तरीय तथ्याङ्कका लागि मुख्य प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौँ, १० फागुन : ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्वतयारीस्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ। जिल्ला आर्थिक गणना अधिकारी तथा गणक–सुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने र स्थलगत तथ्याङ्क सङ्कलनको प्रभावकारी अनुगमनलाई सहजीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले २०७५ सालको आर्थिक गणनाबाट प्राप्त अनुभवलाई पूर्ण रूपमा सदुपयोग गर्दै आगामी गणनालाई अझ व्यवस्थित र सफल बनाउनु सबैको साझा दायित्व रहेको बताउनुभयो। उहाँका अनुसार यसपटकको गणनामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ। इ–सेन्सस प्रणाली समावेश गरिएकाले कार्यक्षमता अभिवृद्धि हुनुका साथै तथ्याङ्कको शुद्धतामा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ। प्रशिक्षकहरूमा उच्चस्तरको जवाफदेहिता, विषयवस्तुको गहिरो बुझाइ र प्रशिक्षण सामग्रीमा समानता कायम गर्न कार्यक्रमले विशेष जोड दिएको छ। देशभर एकरूपता ल्याउँदै प्रभावकारी ढङ्गले तालिम सञ्चालन गर्न स्पष्ट निर्देशनसमेत दिइएको छ। कार्यस्थलमा आउन सक्ने सम्भावित समस्या पहिचान, समाधानका उपाय र सक्रिय सहभागिताका लागि प्रशिक्षकहरूलाई सक्षम बनाउने लक्ष्य रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। तथ्याङ्कको गुणस्तर प्रत्यक्ष रूपमा तालिमको गुणस्तरमा निर्भर रहने भएकाले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ। कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलले आर्थिक गणना केवल तथ्याङ्क सङ्कलनको प्रक्रिया मात्र नभई नीति निर्माण र निर्णय प्रक्रियाको आधार स्तम्भ भएको उल्लेख गर्नुभयो। देशको आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्दै बहुआयामिक विकासका योजना तर्जुमा गर्न राष्ट्रिय आर्थिक गणना २०८२ कोशेढुङ्गा सावित हुने उहाँको विश्वास छ। “गुणस्तरीय तथ्याङ्कले नै गुणस्तरीय योजना निर्माण सम्भव बनाउँछ,” भन्दै उहाँले मुख्य प्रशिक्षक तालिमले सही र विश्वसनीय तथ्याङ्क संकलनमा निर्णायक भूमिका खेल्नेमा जोड दिनुभयो।

Tokha