क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम : पर्यटन प्रवर्द्धनको नयाँ पहल
क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम : पर्यटन प्रवर्द्धनको नयाँ पहल
काठमाडौँ, ९ फागुन : क्यानडाको टोरन्टोमा नेपाली दूतावासले ‘नेपाल इभिनिङ’ नामक प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम नेपाल पर्यटन बोर्डसँगको समन्वयमा भएको थियो र मुख्य उद्देश्य नेपाल र क्यानडाबीच पर्यटन सम्बन्ध बलियो बनाउनु तथा व्यावसायिक साझेदारी बढाउनु रहेको थियो। कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपालको प्राकृतिक सुन्दरता, साहसिक पर्यटन, सांस्कृतिक धरोहर र आध्यात्मिक महत्वबारे जानकारी दिनुभयो। उहाँले क्यानडाली व्यवसायी र ट्राभल एजेन्टलाई नेपाल भ्रमणको अवसर प्रस्तुत गर्न र नेपाल पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न आग्रह गर्नुभयो। कार्यक्रममा टोरन्टोस्थित ट्राभल एजेन्सी, टुर अपरेटर, नेपाल पर्यटन बोर्डका अधिकारी र नेपाली पर्यटन व्यवसायीको उपस्थिति थियो। सहभागीहरूले नेपालको पर्यटकिय सम्भावना र भविष्यका साझेदारीका अवसरहरूबारे छलफल गरे। दूतावासले यस्तो कार्यक्रममार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनलाई अझ परिचित बनाउन र पर्यटक आगमन बढाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ।