सात महिनामै ७६ लाखभन्दा बढी राजस्व, दुर्घटना र मानवीय क्षति घट्दै

सात महिनामै ७६ लाखभन्दा बढी राजस्व, दुर्घटना र मानवीय क्षति घट्दै

बागमती, ९ फागुन : मकवानपुरमा ट्राफिक सचेतना र कडाइको प्रभाव देखिन थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडाले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रु ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारी चालकलाई कारबाही गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ३० हजार ३४ चालक कारबाहीमा परेका थिए र रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व उठेको थियो। दुर्घटनाको तथ्याङ्क पनि केही उत्साहजनक देखिएको छ। चालु आवमा १९६ सवारी दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाएका छन् भने ३८६ जना घाइते भएका छन्। अघिल्लो आवमा ४०७ दुर्घटनामा ५० जनाको मृत्यु र ९६५ जना घाइते भएका थिए। प्रहरी निरीक्षक फुयाँलका शब्दमा, “नियमित ट्राफिक जाँच र निरन्तर सचेतनामूलक कार्यक्रमले सकारात्मक परिणाम दिन थालेका छन्।” चालु वर्षमा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी र कर्मचारीलगायतलाई लक्षित गरी ५४७ पटक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। यसबाट ३९ हजार २४६ जनाले ट्राफिक नियमबारे जानकारी पाएका छन्। ट्राफिक प्रहरीले सडकमा पर्चा–पम्पलेट वितरण, स्टिकर टाँस्ने अभियान तथा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएको जनाएको छ। बढ्दो सवारी चाप, साँघुरा सडक, चालकको लापरवाही र सडकमा छाडिने पशुचौपाया दुर्घटनाका मुख्य कारण भएको उल्लेख गर्दै प्रहरीले सबै पक्षलाई जिम्मेवार र सचेत बन्न आग्रह गरेको छ। ट्राफिक नियमको पालना केवल कानुनी दायित्व मात्र नभई सुरक्षित जीवनतर्फको साझा प्रतिबद्धता भएको प्रहरीको भनाइ छ।

Tokha