दाङ, ९ फागुन । दाङको तुलसीपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झण्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई आज नियन्त्रणमा लिइएको हो। यसअघि सोही घटनामा तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार पक्राउ गरिएको थियो। झण्डा जलाउने घटनामा संलग्न भएको आरोपमा हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको बताइएको छ। कार्यक्रममा सहभागी हुन नेताहरू आउने चर्चा प्रहरीका अनुसार दाङको घोराहीमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन रवि लामिछाने र बालेन्द्र शाह आउने खबर सार्वजनिक भएपछि तुलसीपुरको वीरेन्द्र चोकमा समर्थकहरूको भिड लागेको थियो। सोही क्रममा झण्डा जलाइएको घटना भएको बताइएको छ। घटनाप्रति एमालेले कडा आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।