नेपाल–भारत आर्थिक सहकार्य सहज बनाऔँ : ढकाल

नेपाल–भारत आर्थिक सहकार्य सहज बनाऔँ : ढकाल

काठमाडौँ, ९ फागुन — नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज, सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ। नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’लाई शुक्रबार सम्बोधन गर्दै उहाँले दुई देशबीचको व्यापार प्रवाहलाई सहज बनाउन भन्सार प्रक्रिया सरलीकरण, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण, तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो। अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत भएको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशेष बनाएको धारणा राख्नुभयो। विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र आपूर्ति शृङ्खलामा आएको अवरोधका बीच छिमेकी राष्ट्रबीचको सहकार्य झनै महत्वपूर्ण हुने उहाँको भनाइ थियो। भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार विकास, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवद्र्धनमा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। ऊर्जा र लगानीका अवसर अध्यक्ष ढकालले नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन विस्तार र नीतिगत स्थायित्व भए नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताउनुभयो। त्यसैगरी, पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू प्रस्तुत गरेको उल्लेख गर्दै होटल, रिसोर्ट तथा केबलकार परियोजनाहरूमा लगानीको अवसर विस्तार भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नेपालमा ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको छ। यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्दछु।” नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले लगानीकर्ताको दीर्घकालीन विश्वास कायम गर्न नीतिगत सुधारहरू भइरहेको पनि स्पष्ट पार्नुभयो। उहाँका अनुसार, इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च हो। हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन उहाँले भारतीय उद्योगी व्यवसायी तथा लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ।

Tokha