काठमाडौँ, ९ फागुन । नेपाल विद्युत् प्राधिकरण ले आज काठमाडौँ महानगरका विभिन्न स्थानमा मर्मत तथा वितरण प्रणाली सुदृढीकरण कार्यका कारण केही घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै बानेश्वर र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा चरणबद्ध रूपमा लाइन सटडाउन गरिने जानकारी दिएको हो। बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल–तिलगङ्गा क्षेत्रमा रहेको ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ। तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको विद्युत् पोल ढल्किएकोले सम्भावित जोखिम न्यूनीकरण गर्न मर्मत कार्य आवश्यक परेको बताइएको छ। बिहान ११:०० बजेदेखि १२:३० बजेसम्म तिलगङ्गा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा तथा विमानस्थल आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म तिनकुने, गैरीगाँउ, सिनामङ्गल तथा विमानस्थल क्षेत्रका अन्य भागमा पनि विद्युत् कटौती गरिनेछ। प्राधिकरणका अनुसार पोल मर्मत तथा लाइन व्यवस्थापन कार्य सम्पन्न भएपछि विद्युत् आपूर्ति नियमित गरिनेछ। यसैगरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत काठमाडौँ उपत्यकाको मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत केबल बिछ्याउने तथा प्रणाली स्तरोन्नति गर्ने काम भइरहेको छ। सो कार्य सम्पन्न गर्नका लागि आज बिहान १०:०० बजेदेखि दिउँसो २:००/३:०० बजेसम्म विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुनेछ। बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग र प्रधानमन्त्री निवास आसपास बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म प्रभावित हुनेछन्। वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर क्षेत्र १२:०० देखि २:०० बजेसम्म विद्युत् आपूर्तिबाट वञ्चित हुनेछन्। यसबाहेक हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर र धापा सली क्षेत्रमा पनि केही समय विद्युत् अवरुद्ध हुनेछ। प्राधिकरणले मर्मत तथा स्तरोन्नति कार्य दीर्घकालीन रूपमा विद्युत् आपूर्ति प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक रहेको उल्लेख गर्दै उपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, सम्भव भएसम्म वैकल्पिक व्यवस्था अपनाउन र कार्य सम्पन्न भएपछि आपूर्ति स्वतः सुचारु हुने जानकारी पनि दिइएको छ।