काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.८३ अंकले घट्दै २६२०.९२ बिन्दुमा झरेर बन्द भएको हो, जुन ०.४८ प्रतिशतको गिरावट हो ।
अन्य समूहबाहेक सबै उपसूचक बिहीबार घटेका छन् । यसदिन व्यापार उपसूचक सबैभन्दा धेरै १.०९ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा बिहीबार कुल ३३६ कम्पनीका ६४ हजार ४०७ कारोबारमार्फत १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भएका छन् ।
कुल कारोबार रकम ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम हो । बुधबार दोहोरो अंकले बढेको बजार बिहीबार घटेको हो ।
यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एसवाई प्यानल नेपाल लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी, बुंगल हाइड्रो लिमिटेड र कालिका पावर कम्पनीका सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेका छन् ।

































