प्रधानमन्त्री त बनाइसकेछन्, हामी भने निर्वाचनको प्रतीक्षामा छौँ : अध्यक्ष ओली

प्रधानमन्त्री त बनाइसकेछन्, हामी भने निर्वाचनको प्रतीक्षामा छौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको प्रतीक्षामा रहेको बताएका छन् । हालै सम्पन्न महाधिवेशनले पार्टीको आन्तरिक विषयमा स्पष्ट निर्णय गरिसकेको उल्लेख गर्दै उनले अब निर्वाचनमार्फत राष्ट्रिय स्तरको फैसला दिन एमाले तयार रहेको बताए ।

मंगलबार एमालेद्वारा आयोजित एक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनले पार्टीलाई एकताबद्ध र सशक्त बनाएको दाबी गरे । ‘महाधिवेशनबाट हामीले धेरै प्रश्नको जवाफ दिएका छौँ । अब निर्वाचनबाट राष्ट्रिय फैसला दिने जिम्मेवारीका लागि पनि हामी तयार छौँ भन्ने सन्देश महाधिवेशनले दिएको छ,’ उनले भने।

उनले देशमा को लोकप्रिय छ भन्ने बहस निर्वाचन नहुँदासम्म चलिरहने उल्लेख गर्दै अन्ततः जनताले नै मतमार्फत निर्णय गर्ने बताए ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले लोकतन्त्र अपराजेय भएको दाबी गरे। ‘लोकतन्त्र अजेय छ। यसलाई कसैले पराजित गर्न सक्दैन। अन्ततः लोकतन्त्रले नै जित्छ,’ उनले स्पष्ट पारे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीको विषयमा भएको भनिएको सहमतिप्रति पनि कटाक्ष गरे । ‘प्रधानमन्त्री त बनाइसकेछन् । हामी भने चुनावको प्रतीक्षामा छौँ,’ भन्दै उनले व्यंग्यात्मक शैलीमा टिप्पणी गरे ।

निर्वाचन कहिले हुन्छ भन्ने विषयमा उनले फागुन २१, वैशाख वा अर्को मंसिर हुन सक्ने उल्लेख गर्दै एमाले निर्वाचनका लागि तयार रहेको सन्देश पुनः दोहोर्‍याए ।

Tokha