प्रचण्ड-माधव एकता : विचारको मिलन कि सत्ताको गर्जो टार्ने मेलो ?

प्रचण्ड-माधव एकता : विचारको मिलन कि सत्ताको गर्जो टार्ने मेलो ?

काठमाडौं  । नेपालमा कम्युनिस्टहरुको मिलन र बिछोड हुनका लागि कुनै विचार र सिद्धान्त चाहिदैन। नेताहरुको स्वार्थ मिल्दा मिल्यो, स्वार्थ बाझ्दा फुट्यो। अनि एकले अर्कोलाई गाली गर्यो, गद्धारीको आरोप लगायो। ताली बझाउनेहरु भीड भेटिहालिन्छ ।अहिले नेपाली कम्युनिस्ट पार्टी  एकिकृत समाजवादी र नेकपा माओवादी पार्टीको मिलनको अन्तरकथा पनि यस्तै छ ।  न कुनै सिद्धन्तको कुरा छ न कुनै नयाँ कार्यक्रम छ । यी दुई पार्टीको मिलनको रसायन कि मधव नेपलाललाई थाहा छ, कि प्रचण्डलाई ।  कार्यकर्ताहरुले ताली बजाइरहेकै छन् । तर  दुई पार्टीको एकताले  राजनीति दिशा, आम जनतामा विश्वास र भरोसा दिन भने सकेको देखिदैन। प्रचण्ड-माधव केन्द्रित सत्ता-राजनीतीको कारण नयाँ निर्माण भएको पार्टीलाई वैकल्पिक वाम शक्तिको बनाउने गतिलो  आधार दिनसकेन।

यसरी हेर्दा,कुनै बेला वामपन्थी आन्दोलनको केन्द्र बनेको राजनीतिक दल र यसको नेतृत्व आज आत्मनिर्णयको साहस गुमाएर परनिर्भर राजनीतिक अभ्यासमा रमाउन पुगेको छ । भारतसँग सम्बन्ध राख्नु कूटनीतिक आवश्यकता हो, तर मोहमा परिणत सम्बन्ध राजनीति होइन, आत्मसमर्पण हो । नयाँ निर्माण भएको नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वले ब्यक्त गरका विचार र व्यवहार हेर्दा राष्ट्रिय हितभन्दा बढी उनीहरुलाई बाह्य राजनीति सन्तुलनमा चिन्ता देखिन्छ । यसरी राजनीति नीतिहरु देशभित्र नभएर दिल्लीमा अनुमोदन खोज्ने मनोविज्ञान वाम आन्दोलनका लागि लज्जा र अपमानको बिषय हो।

नेतृत्व परिवर्तनको नारा लिएर निर्माण भएको राजनातिक दल आज पुरानै अनुहार, पुरानै सोच र पुरानै सत्ता लालसामा अड्किन पुगेको छ। नेतृत्वको अवसरवादी राजनीतिक यात्राले सिद्धान्तभन्दा सत्तालाई प्राथमिकता दिने इतिहास दोहोर्‍याइरहेको छ ।

वैचारिक स्पष्टताभन्दा सम्झौता र समायोजनको राजनीतिमा सीमित भएको देखिन्छ।  यसरी समग्रमा प्रचण्ड र माधव नेपालको एकता विचारको एकतामा भन्दा सत्ताको गर्जो टार्ने र आपआफ्नो दूनो सोझ्याउने साझा रणनीतिमा मात्र सिमित देखिएको छ ।

यथार्थमा, नेकपाको नेतृत्वले समाजवादलाई न त जनजीवनसँग जोड्न सकेको छ, न त राष्ट्रवादलाई आत्मसम्मानसँग। ।जब वामपन्थी भनिने दल नै बाह्य शक्तिको मनोविज्ञानबाट निर्देशित हुन्छन् भने  स्वाधीनताको कुरा मञ्चीय अभिनयमा सिमित हुन पुग्छ। जुन कुरा नव निर्माण भएको नेकपाको कार्य पद्धती स्वंले देखाएको छ ।

नयाँ निर्माण भएको पार्टीले  जनतामा आशा जगाउनु भन्दा निराशा थप्ने  काम नै बढी गरेको छ । युवापुस्ता नेतृत्वमा नयाँ दृष्टि र कार्यक्रम खोज्दैछ, तर पुराना नेताहरु भने कुर्सी जोगाउने खेलमा नै अल्झिएका छन् । पार्टीभित्र अहिले पनि बहस होइन, आदेश चल्छ। प्रश्न होइन, अनुशासन थोपरिन्छ। यस्तो संरचना र प्रवृतिले वैकल्पिक राजनीतिको उदय कसरी हुनसक्छरु समाजवादी आन्दोलन गन्तब्यउन्मुख कसरी बन्न सक्छरु

समस्या भारतसँग सम्बन्ध राख्नु होइन, भारतलाई देशको राजनीतिक ब्यबस्थानमा अदृश्य सन्दर्भ र शक्ति दिनु हो। समस्या प्रचण्ड वा माधव होइनन्, समस्या उनीहरूकै वरिपरि घुम्ने सत्ता-केन्द्रित नेतृत्व संरचना हो। जब नेतृत्व आत्मआलोचना विहीन बन्न खोज्छ,तब त्यो आत्मघाती बन्छ।

यदि नेकपाले साँच्चिकै समाजवादी मार्गलाई आफ्नो गन्तब्यदाबी  गर्छ भने, पहिलो कदम उनीहरुले भारत मोहबाट मानसिक रुपमा मुक्ति पाउनु पर्छ। दोस्रो, प्रचण्ड-माधव केन्द्रित नेतृत्वलाई चुनौती दिने आन्तरिक लोकतन्त्रको अभ्यासलाई खुला गर्नु पर्छ । र तेस्रो, बिगतका कमिकम्जोरीहरु प्रति आत्मालोचना गर्दै जनताको दैनिक जीवनसँग जोडिने स्पष्ट वैचारिक बाटो  र कार्यक्रमलाई सार्बजनिक गर्नु पर्दछ। विचारको अन्त्य र सत्ता मोहको राजनीतिले कुनै पनि राजनीतिक दललाई पुनरुउत्थान गर्न सक्दैन । यो कुराको इतिहास संसरमा कतै देखिएको छैन ।

आजको प्रश्न केवल एउटा राजनीति दलको  मात्र होइन। प्रश्न नेपालमा वाम राजनीतिको स्वाधीन सोचसहित पुनर्जन्म हुन्छ कि सधैं बाह्य शक्ति केन्द्रको छायाँ र नेतृत्वको अहंकारको कैदी बनेर बाँचिरहन्छरु भन्ने हो। यसको उत्तर नेतृत्वको साहसमा भन्दा आम कार्यकर्ताहरुको नेतृत्व बदल्ने इच्छा र साहसमा निर्भर छ।

Tokha